२५ सय नाघेर ओर्लियो सेयर बजार

काठमाडौं – बुधबार सेयर बजारको परिसूचक नेप्सेले २५ सय अंक पार गरेर फर्किएको छ। बजार बन्द हुँदा भने परिसूचक अघिल्लो दिनको तुलनामा ६.८ अंकले घटेको छ।

हिजो नयाँ रेकर्ड बनाएको परिसूचकमा आज सामान्य सुधार देखिएको हो। नेप्से बुधबार २४६६ अंकमा कायम भएको छ।

कारोबार सुरु भएको २ मिनेटपछि नै परिसूचक २५ सय माथि पुगेको थियो। ११ बजेर ९ मिनेट जाँदा २५१९ अंकसम्म पुगेको बजार त्यसपछि दिनभर उतारचढावमै रह्यो। अन्ततः कारोबार बन्द हुँदा बजार सामान्य अंकमा घट्न पुग्यो।

यस दिन २०१ कम्पनीको ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि माघ १५ गते ९ अर्ब ८९ करोड रुपैयाँसम्मको कारोबार भएको रेकर्ड छ।

बैंकिङ ४, जलविद्युत १९, माइक्रोफाइनान्स १ अंकले बढे भने अरु सबै समूह घटेका छन्।

ब्यापार ६५, होटल ३०, विकास बैंक ११, फाइनान्स १९, निर्जीवन बीमा १०३, उत्पादन १०१, अन्य १७ र जीवन बीमा समूह १९७ अंकले घटे।

समग्र बजार घटे पनि चार कम्पनीका सेयर हुने लगानीकर्ताले भने १० प्रतिशत मूल्य कमाएका छन्।

स्वाभिमान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, माहुली लघुवित्तका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए।

अरुण काबेली पावरका लगानीकर्ताले ७ प्रतिशत मूल्य कमाउँदा जनरल इन्स्योरेन्स, सानिमा माइ हाइड्रो र राधि जलविद्युतको मूल्य ५ प्रतिशतले बढ्यो।

पोखरा फाइनान्सको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशतले घटेको छ। त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको मूल्य ४.३ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ५६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य बढेर प्रतिकित्ता ४ सय रुपैयाँ पुगेको छ।

पुनर्बीमा कम्पनीको ३२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य घटेर प्रतिकित्ता १६०६ रुपैयाँमा झरेको छ।