हल्लाको पछि नलाग्न लगानीकर्तालाई बोर्डको आग्रह

काठमाडौं – नेपाल धितोपत्र बोर्डले भ्रम, अपूर्ण सूचना र हल्लाको पछि नलाग्न लगानीकर्तालाई आह्वान गरेको छ । बजारमा उच्च अंकको गिरावट आएपछि बोर्डले लगानीकर्तालाई यस्तो आह्वान गरेको हो ।

धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा पुरानै व्यवस्था कार्यान्वयनका लागि ब्रोकरहरुलाई गरिएको परिपत्रलाई विभिन्न समूहले तोडमोड गरी भ्रम फैलाइएको भनिएको छ ।

लगानीकर्ताहरुले लगानी गर्दा सामाजिक सञ्जाल र अपूर्ण र अपुष्ट समाचार र हल्लाको पछि नलागी सूचिकृत संस्थाको आधारभुत तथा प्राविधिक पक्षको राम्रोसंग अध्ययन गरि बिद्यमान व्यवस्थाअनुरुप नै लगानी गर्न बोर्डले बिज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट चक्र टी प्लस टू हुनुपर्ने व्यवस्था लागू भइसकेको उल्लेख गर्दै बोर्डले लगानीकर्ताले खरिद गरेको सेयर र सेयर बिक्रीवापतको रकम समयमा नै लगानीकर्तालाई प्राप्त होस् भन्ने उद्देश्यले उक्त परिपत्र जारी गरेको जनाएको छ ।

साथै उक्त कार्यलाई थप प्रभावकारी बनाउन बोर्ड अध्यक्ष सहितका उच्च तहका कर्मचारी, नेप्सेको प्रतिनिधि तथा ब्रोकर एशोसियशन अफ नेपालका पदाधिकारीबीच आइतबार बोर्डमा छलफल समेत भएको जनाएको छ ।