राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको ५६औं वार्षिकोत्सव समारोह भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकप्रति आम नागरिकको भरोसा, विश्वास रहेको बताए । उनले बैंकले आगामी दिनमा प्रविधिमार्फत दिइने बैंकिङ्ग सेवाले आम नागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताए ।
अर्थमन्त्री पौडेलले बैंकले सञ्चालनमा ल्याएको पाँच वटा शाखा कार्यालयहरु र पाँच वटा एक्टेन्सन काउन्टरहरुको एकसाथ भर्चुअल माध्यमबाट समुद्घाटन गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदमहरु चालिएकाले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधारभई उत्पादकत्व बढेको बताए ।
बैंकले २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैंया कर्जा लगानी गरेको छ । बैंक सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, ३८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।