चन्द्रागिरी हिल्सको आइपिओ बाँडफाँड हुने मिति तोकियो

काठमाडौं–चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर (आइपीओ) को बाँडफाँड शुक्रबार हुने भएको छ । बुधबार प्रि– अलोटमेण्ट सम्पन्न भएको हुनाले शुक्रबार बाँडफाँड गर्न लागिएको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा १२ लाख ५१ हजार १० जना आवेदकले २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १७।५३ गुणा धेरै हो ।

यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा एक लाख ३९ हजार ६ सय २ जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ११ लाख ११ हजार भन्दा धेरै जनाको हात खाली हुनेछ ।

कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।