प्रभु लाइफ इन्स्योरेन्सको शेयरमा अत्याधिक खरिद चाप, बिक्रीकर्ता भने शून्य

काठमाडौं –प्रभु लाइफ इन्स्योरेन्सको शेयर खरिदकर्ताको उच्च चाप देखिएको छ। कारोबार खुलेको ६ कारोबार दिनसम्म पनि खरिदकर्ताको उच्च चाप देखिएको हो।

इन्स्योरेन्सको शेयर तल्लो रेञ्ज नजिकबाट कारोबार खुलेपछि खरिदकर्ताको चाप बढिरहेको छ। सोमबार यस समाचार तयार पार्दासम्ममा नेप्सेको मार्केट डेप्थमा कम्पनी १२ लाख ३६ हजार ४४ कित्ता शेयर खरिद अर्डर रहेको छ। बिक्रीकर्ता भने शून्य रहेको छ।

कम्पनीको शेयर कारोबार तल्लो रेञ्ज नजिकबाट खुलेपछि लगानीकर्ताहरू सस्तोमा शेयर उठाउन खोजेका छन्। तर बिक्रीकर्ताहरूले भने कम्पनीको शेयरमूल्य अझै बढ्न सक्ने भन्दै होल्ड गरिरहेका छन्। त्यस कारण बिक्रीकर्ता प्रायः शून्य देखिएको भने खरिदकर्ताको चाप उच्च देखिएको हो।

कम्पनीको पहिलो कारोबार पुस १९ गते आइतबार प्रति कित्ता शेयर १३७ रुपैयाँ किनबेच भएको थियो। यस बीच कम्पनी शेयरमूल्य ६०.१३ प्रतिशत बढेर २१७ रुपैयाँको हराहरीमा कारोबार भइरहेको छ।

कारोबार खुलेको ६ दिनमा ५८४ कित्ता शेयर किनबेच भएका छन्। यस्तै सोमबार मात्रै कम्पनीको ६३ कित्ता शेयर शेयर १३ हजार ५७० रुपैयाँमा कारोबार भएको छ।

इन्स्योरेन्सको पुस १७ गते नेप्सेमा २ करोड कित्ता साधारण शेयर सूचीकरण भएको थियो। पहिलो कारोबारको लागि इन्स्योरेन्सले १०९ रुपैयाँ ५६ पैसादेखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो।