५ महिनामा ७ अर्ब रुपैयाँको सुन आयात, वार्षिक कति सुन खरिद गर्छन् नेपाली ?

काठमाडौं – गत ५ महिनाको अवधिमा नेपाल ७ अर्ब रुपैयाँभन्दा बढीको पहेँलो धातु सुनको आयात भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो ५ महिनामा ७ अर्ब रुपैयाँको सुन आयात भएको हो ।
महासंघका अध्यक्ष मोहनकुमार सुनारका अनुसार नेपालमा आन्तरिक खरिद बिक्रीसमेत गरेर वार्षिक ५० अर्ब रुपियाँभन्दा बढीको सुनचाँदीको कारोबार हुने गरेको छ ।
सुनचाँदी व्यवसायमा करिब २२ हजार व्यवसायी रहेको पनि सुनारले बताए । उनका अनुसार सुनचाँदी व्यवसायमा ११ हजारभन्दा बढी कालिगडले रोजगारी पाइरहेको पनि बताए ।
सुनचाँदी व्यवसायीले आफूहरुको पेसा–व्यवसायका लागि आवश्यक ऐन नियम बनाउन पनि सरकारसँग माग गरेका छन् ।
शुक्रबारदेखि काठमाडौंमा शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको सातौँ र आठौँ वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशनको उद्घाटन सत्रमा व्यवसायीले यस्तो गुनासो गरेका हुन् ।