बैंकलाई ब्रोकर लाईसेन्स नदिने धितोपत्र बोर्डको प्रष्ट संकेत

काठमाडौं – नेपाल धितोपत्र बोर्डले अहिले कै अवस्थामा बैंकलाई ब्रोकर लाईसेन्स नदिने प्रष्ट संकेत गरेको छ । बोर्ड उच्च स्रोतका अनुसार बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने प्रक्रिया ट्रयाकमा अगाडी बढेको छैन ।

बोर्ड उच्च स्रोतले बिजपाटीसँग भन्यो ुयो विषय अहिलेसम्म अगाडी बढेको छैन, बढ्दैन पनि होला, बैंकलाई ब्रोकर लाइसेन्सको आवश्यकता पुष्टि नै भएनु ।

धितोपत्र बोर्ड कै अर्को स्रोतले बोर्ड र ब्रोकरहरुबीच सेटिङ भईसकेकोले बैंकले ब्रोकर लाईसेन्स नपाउने बिजपाटीलाई बतायो । स्रोतले भन्यो ु सेटिङले कुरो बिगारी सक्यो, अहिलेको अध्यक्षको पालामा बैंकले ब्रोकर लाइसेन्स पाउने सम्भावना टरेको छ । ु स्रोतका अनुसार बोर्डबाट बैंकलाई ब्रोकर लाइसेन्स नदिने निश्चित जस्तै भएको छ । अर्थ मन्त्रालयबाट थप दबाब वा केहि प्रष्ट निर्देशन आएमा के हुन्छ भन्न नसकिने तर अर्थबाट केहि नआएको खण्डमा बैंकलाई ब्रोकर लाइन्सेस नदिने निष्कर्षमा बोर्ड पुगेको स्रोतको दाबी छ ।

त्यसो त बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले कार्यभार सम्हाल्ने बेलामा नै बैंकलाई ब्रोकर लाईसेन्स नदिने संकेत गरेका थिए । नेपाल इन्भेष्टर्स फोरमका प्रतिनिधिमण्डलसँगको कुराकानीमा अध्यक्ष ढुंगानाले बैंकलाई ब्रोकर लाइसेन्स भन्दा अघि ५० ब्रोकरलाई नै व्यवस्थित र बलियो बनाउनु पर्ने बताएका थिए। अध्यक्ष ढुंगानाले अहिलेका ब्रोकरको कार्यक्षेत्र बिस्तार पहिलो प्राथमिकतामा रहेको बताएका थिए।

इन्भेष्टर्स फोरमको प्रतिनिधिमण्डलमा रहेका एक सदस्यले बिजपाटीसँग भेटघाटको ब्रिफिङ गर्दै भनेका थिए ुअध्यक्षज्युले ब्रोकरलाई डिलर, सब डिलर, एजेन्सी जस्ता जिम्मेवारी दिएर उनीहरुको कार्यक्षेत्र बिस्तार गर्नुपर्ने बताउनुभयोु बैंकलाई ब्रोकर लाइसेन्स भन्ने बिषय अर्को चरणको कुरा भएकाले पहिलो प्राथमिकता ब्रोकरलाई नै बलियो र व्यवस्थित बनाउनुपर्ने अध्यक्षले बताउनु भयोु।

बैंकर्स संघ र लगानीकर्ताहरुले समेत बैंकलाई ब्रोकर लाईसेन्स दिन माग गर्दै आएका छन् । त्यस्तै संसदको अर्थ समितिले पनि लामो अध्ययनपछि विभिन्न शर्त पुरा गरेर बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिन सकिने प्रतिवेदन पेश गरेको थियो । केहि बैंकहरुले ब्रोकर लाईसेन्स पाउने आशामा सहायक कम्पनी नै स्थापना गरिसकेका छन् ।

२ मोडालिटीमा छलफल

बैंकलाई ब्रोकर लाईसेन्स नदिने भएपछि बोर्डले अहिले भएकै ब्रोकरको क्षमता बढाउन २ वटा मोडालिटीमा छलफल भईरहेको बोर्ड स्रोतले जनाएको छ । स्रोतका अनुसार पहिले जस्तै राजधानीमा भएका ब्रोकरलाई शाखा खोल्न दिने वा प्रादेशिक संरचना अनुसार ब्रोकर लाईसेन्स खुला गर्ने भन्ने विषयमा छलफल भईरहेको छ । प्रादेशिक संरचना अनुसार ब्रोकर लाईसेन्स खुला गर्ने भनेको नयाँ ब्रोकर लाईसेन्स दिए सरह हो । यसको लागि केहि नियमहरु पनि संशोधन गर्नु पर्ने देखिएको स्रोत बताउछ । यो झन्झटिलो हुने भएकोले ब्रोकरलाई नै शाखा खोल्न दिने बारे निर्णय हुन सक्ने सम्भावना छ। यद्यपि प्रादेशिक संरचना अनुसार लाईसेन्स खुला गर्ने विषयमा पनि छलफल जारी रहेको स्रोत बताउछ ।