विश्व बैंकको प्रक्षेपण : चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने

काठमाडौं –विश्व बैंकले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.६ प्रतिशत सीमित हुने प्रक्षेपण गरेको छ । सन् २०२०–२१ का लागि पहिलो विश्वव्यापी आर्थिक परिदृष्य रिपोर्ट सार्वजनिक गर्दै बैंकले नेपालको सन्दर्भमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने तथ्य पेस गरेको हो ।
गत आर्थिक वर्ष २०७६–७७ मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमै सीमित रहेको पनि विश्व बैंकले जनाएको छ । यद्यपी नेपाल सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशतको उच्च वृद्धिको लक्ष्य लिएको थियो । कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा परेको प्रभाव नेपालमा पनि पर्दा अर्थतन्त्रमा नसोचेको दुर्घती व्यहोर्नु परेको छ ।
विश्व बैंकका अनुसार कोरोनाको महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असर, उद्योग क्षेत्रको योगदानमा आएको कमी र सरकारले गर्ने लगानीका क्षेत्र खुम्चिएका कारण आर्थिक वृद्धिदरमा ठूलो गिरावट आएको र चालु आर्थिक वर्षको आर्थिक वृद्धिमा समेत त्यसको ठूलो असर पर्ने प्रक्षेपण गरेको छ ।
बैंकले दक्षिण एसियाली देशमा सबैभन्दा बढि भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशतले र सबैभन्दा कम भुटानको ०.७ प्रतिशतले गिरावट आउने प्रक्षेपण गरेको छ ।
त्यस्तै, पकिस्तानको आर्थिक वृद्धि ०.५ प्रतिशत, बंगालादेशको १.६ प्रतिशतले र सबैभन्दा धेरै माल्दिभ्सको आर्थिक वृद्धिदर ९.७ प्रतिशत कायम रहने विश्व बैंकको अनुमान छ । सन् २०२१ मा विश्वभरको आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा रहने बैंकको अनुमान छ ।