नेप्से नयाँ उचाइमा

काठमाडौं – सेयरबजार परिसूचक नेप्सेले पुनः नयाँ रेकर्ड बनाएको छ ।
साताको पहिलो दिन आइतबार ८८ अंक्ले वृद्धि भएर २१७५.४० अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्सेमा सोमबार र मंगलबार भने एकल अंकको सामान्य करेक्सन देखिएको थियो । तर, साताको चौथो दिने बजार परिसूचक दोहोरो अंकले वृद्धि हुँदा आइतबारको रेकर्ड तोडिएको छ । आज बजार परिसूचक नेप्से १३.०७ अंकले वृद्धि हुँदा २१७८.५७ अंकमा बन्द भएको छ । नेप्सेको अहिलेसम्मकै उच्च क्लोजिङ विन्दु हो ।
यसअघि, गएको मंसिर ११ गते नेप्सेले ५३ महिनाअघिको रेकर्ड ब्रेक गर्दै अगाडि बढेको थियो । २०७३ असार १२ गते १८८१.४५ अंकसम्म पुगेको नेप्से त्यसपछि ११०० अंकको विन्दुसम्म झरेको थियो ।
तर, लकडाउनसँगै तीन महिनाभन्दा लामो समय बन्द भएर असार मध्यबाट खुलेको नेप्सेले त्यसयता लगातार उकालो लाग्दा नयाँ नयाँ रेकर्ड कायम गर्दै अगाडि बढेको छ । मंसिर १७ गते २०७१।०३ अंकसम्म पुगेको थियो ।
त्यसपछि लगातर उतार–चढाव देखिएको सेयरबजारले बिहीबार उक्त रेकर्ड तोड्दै २०८७ अंकमा बन्द भयो । त्यसपछि आइतबार नेप्से ४.२२ प्रतिशतले वृद्धि हुँदा २१७५.४० अंकमा बन्द भएको थियो । सोमबार र मंगलबार बजारमा सामान्य करेक्सन भएपनि आज बुधबार भने नेप्से दोहोरो अंकले वृद्धि हुँदा नयाँ रेकर्ड कायम गरेको छ ।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलताले सहजरुपमा लगानीकर्तामा उपलब्ध स्रोत, न्यून विन्दुमा आएको ब्याजदर तत्कालै बढ्ने अवस्था नहुँदा लगानीकर्ता बजार बढ्नेमा अशावादी देखिएका छन् ।
अर्थतन्त्र प्रतिकूल हुँदा समेत बढेको बजारले बुलिस ट्रेन्डमा रहेको संकेत यस्तो अवस्थामा लगानीकर्ताको मनोविज्ञान नै बजार बढ्नुको प्रमुख कारण रहेको सेयर बजारका विज्ञहरु बताउँछन् ।
अर्कोतर्फ निक्षेपको वास्तविक बयाजदर नेगेटिभ हुँदा निक्षेपकर्ता पनि आफूसँग भएको पैसा बैंकमा राख्नेभन्दा पनि लगानीको विकल्प खोजिरहेका छन् । जसले गर्दा पनि बजारमा लगानी बढ्को छ । यद्यपि, पुस मसान्तनजिक आउँदै गर्दा लगानीकर्ता भने केही समय पर्खने मनस्थितिमा रहेको देखिन्छ । जसले गर्दा कारोबार रकम भने घटेको छ ।
आज बजारमा १ करोड ५ लाख ३५ हजार २१६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजारको कारोबार भएको छ ।
आज सेयरबजारमा व्यापार र हाइड्रोपावर बाहेक सबै समूहको सूचक बढेको छ । लघुवित्तको सूचक १.६८ प्रतिशत र निर्जीवन बिमाको सूचक १.१५ प्रतिशतले बढेको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ सूचक पनि ०.६८ प्रतिशतले बढेको छ ।
आज नेप्सेमा कारोबार रकममा नेपाल लाइफले लिड गरेको छ । कम्पनीको २१ करोड ३३ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै, शिखर इन्स्योरेन्सको २० करोड र नेपाल पुनर्बिमा कम्पनीको १७ करोडमाथिको कारोबार भएको छ ।
आज नेप्सेमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सर्किट लाग्नेमा कालिका लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्त, नारायणी विकास बैंक र प्रभु लाइफ छन् । यता, जोशी हाइड्रोपावरको सेयर मूल्य भने ५ प्रतिशतमाथिले घटेको छ ।