सफलताको कथा : एउटा कुनाबाट सुरु भएको बर्गर हाउस ४९ शाखामा फैलियो

काठमाडौं – आज काठमाडौंका बर्गर पारखिहरुको रोजाइमा पर्न सफल भएको एउटा नाम हो ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन ।’ विशेषगरी युवापुस्ता माझ लोकप्रिय रहेको बर्गर हाउस आज फुड चेन बनेको छ।
एकजनाको देशमै केही गरौ भन्ने सोचले जन्मिएको बर्गर हाउस आज देशभर ४९ वटा शाखा सहित यो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । एउटा अफलोकेशनमा अन्डरग्राउण्डबाट सुरु भएको यही बर्गर हाउसको सफताको कथा आज हामी यहाँहरु माझ बाड्दैछौ।
दोलखाका वसन्त लामा एसएलसीसम्मको अध्ययन सकेपछि थप पढ्नका लागि काठमाडौं छिरे। मध्ययम बर्गिय परिवारबाट आएको व्यक्ति हुँदा उनलाई काम नगरी यो शहरमा बाँच्न सम्भव थिएन । पढाई सँगसँगै काम पनि अघि बढाउने सोचसहित उनी आफ्ना चिने जानेका साथी भाइ र आफन्तहरु भेटघाट गर्न थाले। यहि क्रममा उनले धेरै जसो आफूसँग् सम्बन्धित व्यक्तिहरु होटल रेस्टुरेन्टको क्षेत्रमा काम गरिरहेको पाए। खाना बनाउनु र सर्भ गर्नु उनको पनि बहुत रुचीको विषय भएकाले आफूपनि यहि क्षेत्रमा लाग्ने निर्णय गरे। यसरी उनले साथीहरूको सहयोगमा आफ्नो पहिलो काम कुकको रुपमा सुरु गरे। काम गरेर पढ्न नसकिने लागेपछि उनले कामलाई प्राथमिकता दिदै पढाई बिचमै छोडिदिए।
हाल ३३ बर्ष पुगेका युवा व्यवसायी बसन्तले त्यसपछि विभिन्न होटल रेस्टुरेन्टमा ७–८ बर्ष सघर्षपूर्ण दिनहरु बिताउदै कुकको काम गरे । जस्तो दुःख भएपनि काम सिक्ने उनको अठोटले उनलाई अन्ततः एक सफल र पूर्ण दक्ष कुक बनायो । काम सिकेपपनि नेपाली फुडको बजार तत्कालिन अबस्थामा सँकुचित हुँदा उनले सामान्य भन्दा माथि आम्दानी गर्न सकेनन् । तत्कालिन अबस्थाको विदेश जाने ट्रेण्ड देखेर उतापो कमाइ हुने रहेछ भन्ने सोचेर विदेश जाने निर्णय गरे।
आफ्नो देशमै केही गर्नुपर्छ भन्ने सोचलाई कुल्चदै दुबइ पुगेका उनलाई त्यही सपनाले पिरोलेर त्यहाँ बस्न दिएन। करिव ८–९ महिना काम गरेपछि उनलाई पसिनाले आफ्नै माटो सिँगार्नुपर्छ भन्ने लाग्यो र त्यो विदेशको कमाइको आकाङ्क्षा त्यहीँ त्यागेर उनी नेपाल फर्किए। तर यो ८–९ महिनाको अबधि भने उनका लागि आफू दक्ष बन्ने र थप सिपहरु सिक्ने मौका प्रमाणित भयो। त्यहाँ उनले आफूलाई अझ सिपालु बनाए अनि अन्तर्राष्ट्रिय स्तरको छफुड कलचर’ र त्यसमा रहेको व्यवसायीक सम्भावनालाई नजिकबाट नियाल्ने मौका पाए।
आफ्नै देशमा केही गर्नुपर्छ भनेर उनी देश त फर्किए तर के गर्ने केही योजना थिएन। यहि क्रममा उनले देशमा भर्खरै भित्रिएको बर्गर र त्यसमा बढ्दो आकर्षण अनि व्यवसायीक सफलताको सम्भावना देख्न थाले। त्यसपछि काठमाडौंको शखमुलमा सुरु भयो ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन।’ काठमाडौंको बढ्दो भिडभाड र व्यवसायिक प्रतिस्पर्धात्मक बजारमा उनले आफूले खोजेजस्तो लोकेशन पाउने सम्भावना थिएन।
शखमुलको त्यो सुरुवाती आउटलेट सम्झिदै उनी भन्छन्, ‘छ सात महिना त चलाउन सार्है गार्हो भयो, भित्रपट्टी रहेको त्यो माथि पनि अन्डरग्राउण्ड लोकेशन भएको हुँदा ग्राहकले एकदमै कम भिजिट गर्थे ।’ त्यसपछि भने बिस्तारै यहाँ आउने ग्राहकले नै फरक किसिमको र स्वस्थ बर्गरको तारिफ गर्दै आफ्ना साथीहरू लिएर आउन थालेकाले व्यापार बढ्दै गएको उनी बताउँछन् । यसरी गुणस्तरिय सेवा दिन सक्ने हो भने जुन लोकेशन हुँदापनि ग्राहक खोजीखोजी आउछन् भन्ने सोही आउटलेटमा दैनिक देखिने ग्राहकको भिडले देखाउछ। वरिपरिका होटेल रेस्टुरेन्टहरुमा लाइभ म्युजिक समेत राखेपछि उनले ग्राहकको माग बमोजिम यो पहिलो आउटलेटमा त्यसको समेत व्यवस्था गरेका छ्न।
यसरी बर्गर हाउस सफल हुँदै गयो र उनले थप ४–५ वटा शाखा आफ्नै लगानीमा बिस्तार गरे। यो क्रम अझै रोकिएन र ठाउँठाउँमा बर्गर हाउसको माग यसरी बढ्यो कि उनको एकल प्रयासले त्यसको व्यवस्थापन गर्न कठिन हुन पुग्यो। त्यसपछि आफ्ना केही साथीहरूको टिम बनाइ उनले निरन्तर शाखा बिस्तार गर्दै यसलाई एउटा फुड चेन बनाए। आफू सफल हुनमा यो टिमको महत्वपुर्ण भुमिका रहेको बताउदै उनी आफूहरु छिटै फरक योजनाका साथ आउने तयारीमा रहेको बताउछन् । उनी भन्छन्, ‘करिब १ रोपनी क्षेत्रफलमा कोअप्रेटिभ भवन बन्ने तयारीमा छ । त्यो सम्पन्न भएपछी त्यहीँबाट सबै ब्रान्च मोनिटरिङ गर्ने काम हुनेछ र ब्रान्चको प्यवस्थित डिस्ट्रिब्युट गर्न पनि सहज हुनेछ’ । यसो गर्दा योजनाहरु दिगो रुपमा कार्यान्वयन हुने पनि उनको बिश्वास छ।
प्रत्यक्ष रुपमा एक हजार जना र अप्रत्यक्ष रुपमा पाँच सय जना बढीलाई रोजगारी दिन सफल बर्गर हाउस अहिले यो स्थानमा आइपुग्ला भनेर स्वयम बसन्तले पनि सोचेका थिएनन् । एउटा सामान्य व्यवसाय गर्ने सोचले सुरु भएको यसले यो अकल्पनीय सफलता प्राप्त गर्नुअघि थुप्रै चुनौतीहरुलाई पाखा लगाएको छ। बसन्तका अनुसार त्यतिबेला अहिलेजस्तो काम गर्ने र सिक्ने अवसर थिएन। सिमित होटल रेस्टुरेन्ट अनि खुम्चिएको बजारको कारण काम सिक्न नै गार्हो पर्थ्यो। बल्ल काम सिकेपनि आफै सुरु गर्न लगानी र भनेजस्तो लोकेशन नपाइने अर्को समस्या पर्थ्यो। सिकेका स्टाफहरु विदेशतिर लाग्ने वा आफ्नै काम सुरु गर्ने हुँदा स्टाफ व्यवस्थापनमा पनि कठिन कार्य छ। व्यवसाय सुरु गरेर स्थापित हुन सबैभन्दा ठूलो चुनौती रहेको उनको बुझाइ छ।
आफ्नो सन्दर्भमा चाहिँ आफूले व्यवसाय सुरु गरेदेखिकै सबैभन्दा ठूलो चुनौती सरकारले गरेको लकडाउन भएको बताउँछन् । कोरोनाको कारण सरकारले लगाएको लकडाउनको समयमा सबैधन्दा ठूलो क्षति बेहोर्नपरेको उनको भनाई छ । मोटिभेट न्यूजसँगको कुराकानीमा ३–४ महिना पुरै बन्द गरेको, पछि सहज हुँदापनि होम डेलिभरीको मात्रै व्यवस्था भएकाले हाल त्यही समयको घाटाबाट माथि उठ्ने काम भइरहेको उनले बताए। स्टाफ व्यवस्थापनको प्रसंगमा उनी अगाडि भन्छन्, ‘त्यो समयमा केही स्टाफ गाउँतिर गएकाले उतै वसे भने केहिलाई बाँच्न मात्रै पुग्ने गरि तलब दिएर पनि टिकाउने काम गर्यौ ।’ अझै ६/७ महिना त्यो समयको घाटा पुर्ती गर्नमा प्रयोग हुने उनको अनुमान छ।
फरक प्रसंगमा ग्राहकहरु बर्गर खान बर्गर हाउसनै आउनुको कारण यहाँको फास्ट सर्भिस, उचित मूल्य र बर्गरको फरक स्वादनै भएको उनी बताउँछन् । यसका अलवा अन्य फास्टफुड आइटमसमेत पाइने हुदा अझ धेरै ग्राहकहरुको रोजाइमा पर्न सफल भएको उनको बुझाइ छ। उनी आफैं खानाका परिकारहरु बनाउने र स्वस्थ, सफा र छिटो सर्भ गर्नका लागि स्टाफहरुलाई दैनिक प्रशिक्षण दिन्छन् । त्यसबाहेक ‘द बर्गर हाउस’ टिमको छुट्टै व्यवस्थापन टिम पनि छ जसले दैनिक सबै शाखाहरुको व्यवस्थापन हेर्न्ने गर्दछ।
आफूपनि विदेश गएर फर्किएर आज सफल उद्यमी बनेको भन्दै बसन्त विदेश जानुलाईनै नराम्रो भन्न नहुने बताउँछन् । तर विदेश गएपछि संधै त्यही बस्नु वा बारम्बार अर्काको मुलुकमा काम गर्न पुग्नु चाहिँ राम्रो नभएको उनको भनाइ छ। उता सिकेका सीप ल्याएर यहाँ त्यसलाई प्रयोग गर्नसके सफल हुन सकिने उनको भनाइ छ।
देशमा युवाहरूलाई यतै केही गर्छु भन्दा कसैले नपत्याउने तर विदेश जान्छु भन्दा हाम्रो समाज ऋण दिन समेत तयार हुने अवस्था दुःखद भएको उनको भनाइ छ। यस्तो प्रबृत्तिले समेत विदेश जानुपर्ने बाध्यता बढेको उनको बुझाइ छ। आम नेपाली युवाहरूलाई उनी आफ्नो रुचीको क्षेत्र पहिचान गरि त्यसमै निरन्तर मेहनतका साथ लागे सफल भइने भन्दै सकारात्मक सोच राख्दै देशमै केही गर्ने प्रयास गर्न अनुरोध गर्छन् ।