तालिका बनाएरै सुरु भयो लोडसेडिङ

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चार वर्षपछि लोडसेडिङलाई निरन्तरता दिएको छ । प्राधिकरणको वर्तमान नेतृत्वले घुमाउरो पाराले लोड व्यवस्थापन गर्न भन्दै विभिन्न स्थानमा विद्युत कटौतीका लागि सूचना नै निकालेर लोडसेडिङलाई निरन्तरता दिएको हो ।
प्राधिकरणले काठमाडौं बानेश्वरको लोड व्यवस्थापन गर्न ललितपुरका चापागाउँ, हरिसिद्धि, र खुमलटारस्थित रेडियो नेपाल फिडर १ देखि ३ घण्टासम्म बन्द गर्न सूचना निकालिएको छ । चापागाउँमा बिहान ९ बजेदेखि १० बजेसम्म, हरिसिद्धिमा १२ बजे देखि २ बजेसम्म र खुमलटारस्थित रेडियो नेपालमा १२ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति रोकिने छ।
लोड व्यवस्थापनको अर्थ हो, ‘औपचारिक लोडसेडिङको सुरुवात हो । प्राधिकरणका एक कर्मचारीका अनुसार लोडसेडिङको रिहर्सल केही अघिदेखि भएको र औपचारिक सुरुवात बिहीबारदेखि भएको बताए ।
कुलमान घिसिङ बाहिरिएको चार महिनामै प्राधिकरणको व्यवस्थापनलाई भताभुङ बनाउँदै लोडसेडिङको सुरुवात गरिएको छ। घिसिङ बाहिरिएपछि दैनिक केही घण्टा बिजुली जान सुरु गरेको थियो। त्यसपछि विस्तारै बढाउँदै लगेर लोडसेडिङको अँध्यारोमा लैजान खोजिएको देखिन्छ।
तर विद्युत प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्य भने बानेश्वर सवस्टेसनको लोड घटाउन हरिसिद्धि र चापागाउँमा लाइन काट्नु परेको दाबी गर्छन्। ‘बानेश्वर सवस्टेसनको एउटा लाइन पाटनहुँदै हरिसिद्धिसम्म गएको छ। त्यसैले उक्त फिडर व्यवस्थापन गर्न हरिसिद्धिसम्म लाइन काट्नु परेको हो,’ शाक्यले भने। उनको यो तर्क प्राधिकरणकै कर्मचारी मान्न तयार छैनन्।