आइतबार सेयर बजारमा नयाँ रकर्ड

काठमाडौँ – सेयर बजारमा आइतबार नयाँ रेकर्ड दर्ता भएको छ । साताको पहिलो दिन आज नेप्से सूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड बनाएका हुन् ।
शेयर बजारले यसअघिको उच्चतम विन्दु १८८१ लाई क्रस गरेपछि लगानीकर्ताहरूमा झनै उत्साह थपिएको छ । नेप्से दिनहुँ नयाँ इतिहास बनाउन लम्किरहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७५.०२ अंकले बढेर एक हजार ९ सय ६८.२७ मा पुगेको छ । नेप्से ३.९६ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १८.७६ अंकले बढेर ३८३.९३ मा पुगेको छ ।
कूल २०० वटा कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३ सय ४८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ ।