अब सरकारले कोरोना संक्रमितको उपचार नगर्ने

काठमाडौं – अबदेखि सरकारले कारोना भाइरस संक्रमितहरुको उपचार नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको परीक्षण र उपचार खर्च नगर्ने जनाएको छ ।

अब संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्ता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको जनाएका छन् ।

उनीहरुबाहेक ‘अन्य सबैको परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्ने निर्णय भएको छ । प्रवक्ता गौतमका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू भैसकेको छ । आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।