अबदेखि डिजिटल भुक्तानी गर्दा पैसा नलाग्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट बैकिङ कारोबार गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई कडा निर्देशन दिएको छ । बैंकहरुले डिजिटल भुक्तानीमा मनलाग्दो शुल्क लिएपछि राष्ट्र बैंकले शुल्क नलिन निर्देशन दिएको हो ।

राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भएका भुक्तानी सेवा प्रदायकलाई डिजिटल वालेट मार्फत हुने कारोबारमा शुल्क निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गरी चालु आर्थिक वर्षको पुस मसान्तसम्म डिजिटल वालेट मार्फत हुने सबै कारोबारमा शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको हो ।

यसैगरी, केन्द्रीय बैंकले डिजिटल कारोबार गर्ने वालेटहरुको लागि सेवा शुल्कसमेत तोकेको छ । सरकारलाई बुझाउने राजस्व अनुसार ५ देखि ३० रुपैयाँसम्म शुल्क लाग्नेछ ।

जसअनुसार १ हजार रुपैयाँको कारोबार निःशुल्क, १ हजारदेखि ३ हजारसम्म ५ रुपैयाँ, ३ हजारदेखि १० हजारसम्म १० रुपैयाँ र १० हजारभन्दा माथि कारोबार गर्नेलाई ३० रुपैयाँ सेवा शुल्क लिन राष्ट्र बैंकले सेवाप्रदायकहरुलाई भनेको छ । तथापि, यो शुल्क पुस मसान्तसम्म भने लिन पाइने छैन ।