अपि पावरको हकप्रद निष्काशन गर्ने मिति तय

काठमाडौं – अपि पावर कम्पनीले कार्तिक १४ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १ः०.४७६१९०४७६१९ को अनुपातमा अर्थात् ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्ने लागेको हो ।

हकप्रदमा मङ्सिर ४ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको लागि लगानी जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो । कूल ४० मेगावाट क्षमताको सो आयोजनाको कूल लागत रु सात अर्ब ४० करोड रहेको छ । आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब १८ करोड लगानी गर्ने छन् भने रु दुई अर्ब २२ करोड भने प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने भएको छ । सो रकम जुटाउन कम्पनीले विभिन्न चरणमा हकप्रद निष्काशन गर्ने छ ।

आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्न सम्झौता गरिसकेका छन् ।

त्यस्तै कम्पनीले हकप्रदपछि मात्र लाभांश बितरण गर्ने जनाएको छ । हकप्रद निष्काशन अगाडी नै लाभांश वितरण गर्दा चुक्ता पुँजी बढेर हकप्रद समीकरण बिग्रने भन्दै कम्पनीले हकप्रदपछि मात्र लाभांश वितरण गर्ने जनाएको हो ।

कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने छ । तर त्यो भन्दा अगाडी कम्पनीले २०७५ असार मसान्तसम्म कायाम चुक्ता पुँजी ११३.४० करोडको १ः०.४७ को अनुपातमा ५६.७० करोड बराबरको हकप्रद निष्काशन गर्न लागेको हो । त्यस्तै कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट दोहोरो अंकको लाभांश वितरण गर्न सक्ने प्रक्षेपण गरेको छ ।