सामलिङ्गको पनि आईपीओ आउने

काठमाडौं – सामलिङ्ग पावर कम्पनीको आईपीओ आउने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रक्रिया सुरु गरेको छ ।
कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउँदै विक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले आईपीओ विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
विक्री प्रबन्धकसँगै आगामी दिनमा कम्पनीको शेयर व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाईनै शेयर रजिष्ट्रारमा नियुक्त गरेको कम्पनीले बताएको छ ।
शेयर निष्कासनका लागि सोमवार सामलिङ्ग पावर कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेल र मर्चेण्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनी भारतीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि कुल १२ लाख ३० हजार कित्ता आईपीओ जारी गर्ने तयारी कम्पनीले गरेको हो ।
उक्त कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सन् २०२० को डिसेम्बासम्म आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।