जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड हुदै, कतिले पाउने भए शेयर ?

काठमाडौं – जनरल इन्स्योरेन्सले मंगलबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले उक्त तयारी गरेको हो।
कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले आज साँझसम्ममा प्रिअलटमेन्ट गरेर मंगलबार भित्र आईपीओ बाँडफाँड गर्ने जनाएको छ।
कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।
कम्पनीको आईपीओ करिब ८ गुणा बढी आवेदन परेको छ। असोज १४ गते अन्तिम दिनसम्ममा ८ लाख १३ हजार ७२५ आवेदकबाट २ करोड २४ लाख ७७ हजार ३० कित्ताको लागि आवेदन परेको थियो।
शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ५ करोड ६ लाख खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा ७० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ २३ पैसा छ। कम्पनीको जगेडा कोषमा ४ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।