नेपाल विद्युत प्राधिकरण ः भदौं महिनाको बिजुलीको बिल असोज २२ सम्म नतिरे थप दस्तुर लाग्ने

काठमाडौं– भदौ महिनाको बिजुलीको महशुल असोज २२ सम्म नतिरे थप दस्तुर लाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले भदौ महिनाको बिजुलीको बिल असोज २२ सम्म तिरे थप दस्तुर नलाग्ने व्यवस्था गरेको छ ।

प्राधिकरणले भदौ महिनामा देशका अधिकांश स्थानहरुमा कोभिड १९ को संक्रमणले गर्दा लकडाउन र निषेधाज्ञा भएकाले विद्युतको मिटररिडिङ तथा विलिङ समयमा हुन नसकि महशुल भुक्तानीका सम्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्दै यस्तो सूचना जारी गरेको हो ।

उपभोक्ताको सुविधा तथा हितलाई ध्यानमा राखी भदौ महिनाको महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी असोज २२ गते सम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र असोज २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको प्राधिकरणको भनाइ छ ।

कुनै उपभोक्ताले २०७७ साल भदौ महिनाको महशुल भुक्तानी गर्दा थप दस्तुर यस अघि तिरेको भए उक्त रकम आगामी विलमा समायोजन गरिने भएको छ ।