शेयर बजारमा किन उत्साहित भए लगानीकर्ता ?

काठमाडौं – साताको पहिलो दिन आइतबार शेयर बजारमा लागनीकर्ता लगानी गर्न उत्साहित भएका छन । शुक्रबार सार्वजनिक भएको मौद्धिक नीतिका कारण आइतबारको शेयर बजारमा हरियाली छाएको शेयर बजारका जानकारहरुको भनाई छ ।
बैंकहरुले न्यून ब्याजदरमा शेयर धितो कर्जा दिनसक्ने व्यवस्था मौद्धिक नीतिमा समावेश भएपछि शेयर बजारमा उत्साह देखिन थालेको हो । पछिल्लो समय बैंकहरूले न्यून ब्याजदरमा शेयर धितो कर्जा प्रवाह गर्ने योजना ल्याइरहेको बेला केन्द्रिय बैंकलेसमेत शेयर धितो कर्जाको सीमा बढाएपछि शेयर बजारमा उत्साह देखिएको हो।
बैंकहरू अहिले एकल अंकमा नै शेयर धितो कर्जा लगानी गर्न थालिसकेका छन्। केही समय अघि मात्रै नेपाल इन्भेष्टमेन्ट बैंकले ९.९९ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा लगानी गर्ने गरी नयाँ योजना ल्याएको थियो। जसले गर्दा लगानीकर्ताले न्यून ब्याजदरमा नै कर्जा पाउन थालेका छन्। केही लगानीकर्ताहरूले अहिले एकल अंकको ब्याजदरमा नै शेयर धितो राखेर कर्जा लिइसकेको बताएका छन्।
अन्य वाणिज्य बैंकहरूले पनि इन्भेष्टमेन्ट बैंकले जस्तै नयाँ योजना ल्याउने तयारीमा रहेका छन्। केन्द्रिय बैंकले शेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको छ जसमा बैंकहरूले पनि न्यून ब्याजदरमा नै कर्जा लगानी गर्न थालेपछि लगानीकर्ता थप उत्साहित भएका हुन्। जसले गर्दा आइतबार बजार खुलेको केही समयमा नै नेप्से सूचकमा ६ प्रतिशतको वृद्धिपश्चात सकारात्मक सर्किट लागेर बजार बन्द भएको थियो। आइतबार कारोबारमा आएका कुनै पनि कम्पनीको शेयरमूल्य घटेको छैन्।
शेयर बजार मात्रै होइन बैंकहरू पछिल्लो समय सबै प्रकारको कर्जाको ब्याजदर घटाएका छन् । केही समय अघि एनआइसी एशिया बैंकले ८.२५ प्रतिशतमा नै घर गाडी तथा व्यवसायीक कर्जा दिने योजना सार्वजानिक गरेको थियो भने नबिल बैंकले घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा, ८.४९ प्रतिशत, साना तथा मझौला कर्जा ७.९९ ब्याजदर कायम गरेको छ।