विप्लवको कब्जामा एनआरएन लघुवित्तका कर्मचारी

अछाम – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले एनआरएन लघुवित्त वित्तिय संस्थाका कर्मचारीलाई कब्जामा लिएको छ । नेकपाले कोरोना महामारीका कारण जनताको अवस्थालाई मध्यनजर गर्दै परिस्थिति सहज नहुँदासम्म विभिन्न बैङ्क र वित्तीय संस्थाहरूलाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन अवज्ञा गरेको भन्दै कारवाही स्वरुप एक कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।
अछाम कमलबजार नजिकै जनतासँग चर्को ब्याजदर असुली गरिएको थाहा पाएपछि पुगेको टोलिले उक्त लघुबित्तका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको हो ।
यसअघि नेकपाका जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले वक्तव्य जारी गर्दै पार्टीको निर्देशन अटेर गरेर डिप्रोस नामको वित्तीय संस्था (माइक्रो फाइनान्स) ले जिल्लाको कमलबजार न.पा. ७ सेरामा जनताबाट ब्याज र किस्ता उठाइरहेको जानकारी आएको उल्लेख गरेका थिए । उक्त वित्तिय संस्थालाई कारवाही स्वरुप जनताको पैसा फिर्ता गर्न लगाएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘डिप्रोस भन्ने वित्तीय संस्था (माइक्रो फाइनान्स) ले जिल्लाको कमलबजार न.पा. ७ सेरामा जनताबाट ब्याज र किस्ता उठाइरहेको बेला पार्टीका कमरेड सोही स्थानमा गई उक्त काम रोकी सम्पुर्ण जनताको सहभागितामा चेतावनीसहित उठाइएको झन्डै २ लाख ५० हजार रकम जनतालाई फिर्ता गराई प्रतिनिधिलाई त्यहाँबाट लखेटिएको थियोे ।’