आज किन घट्यो सेयर बजार ? यस्तो छ भित्री कारण

काठमाडौं – साताको दोश्रो दिन आज (सोमबार) सेयर बजार सामान्य अंकले घटेको छ । १४३ वटा कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक पनि ६.१२ अंकले घटेको छ । आज नेप्से १ हजार ५६९ विन्दुमा झरेको छ।
सोमबार १९५ वटा कम्पनीको ८५ लाख १३ हजार कित्ता सेयर कारोबार भएको छ । यस दिन कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने उत्पादनमूलक उपसमूहको सूचक मात्र सकारात्मक देखिएको छ।
यस दिन युनाइटेड फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। फाइनान्सको नविल बैंकसँग मर्जरमा जाने हल्ला चलेसँगै शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै नेश्नल हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतले बढेको छ, पञ्चकन्या हाइड्रोपावरको ४.८१ प्रतिशत, सिन्धु विकास बैंकको ३.७६ प्रतिशत, नाडेप लघुवित्तको ३.६१ प्रतिशत र मेरो माइक्रोफाइनान्सको ३.२९ प्रतिशतले बढेको छ।
त्यस्तै, लिवर्टी इनर्जिको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने रैराङ हाइड्रोपावरको ९.८० प्रतिशत, घलेम्दी हाइड्रोको ९.५२ प्रतिशत, माउन्टेन हाइड्रोको ७.८९ प्रतिशत र प्रोग्रेसिभ फाइनान्सको ६.६१ प्रतिशतले घटेको छ।
अघिल्लो साता अप्रत्यासित रुपमा सेयर बजार बढेको थियो । त्यही अनुपातमा आइतबार पनि सुरुवाती बजार आक्रामक बढेको बजार दिउसो ओरालो लागेको थियो । तर सोमबार बजारमा करेक्सन आएको जानकारहरु बताउँछन । ‘सोमबार सामान्य करेक्सन मात्र देखिएको हो’ एक लगानीकर्ताले भने ‘मंगलबार बजार फेरी बढ्छ ।’