भेटिए त्रिशूलीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सहचालक

काठमाडौं – त्रिशूली नदीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सहचालक भेटिएका छन । आइतबार बिहान करिब २ बजे ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको थियो।

खसेपछि सम्पर्कविहीन भएका चालक र सहचालक सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए।

चालक हेटौंडाका ३२ वर्षीय सुदिप बोहरा र सहचालक मनिस नगरकोटी हुन । ‘उनीहरू केहीबेर आत्तिएर कता गएका थिए। पछि सम्पर्कमा आए,’ एसपी रेग्मीले भने।

उनीहरूले प्रहरीलाई दिएको बयान अनुसार गाडीको स्टेरिङ अड्किएपछि दुर्घटना हुन पुगेको हो। ‘स्टेरिङ अड्किएर दुर्घटना भएको बताएका छन्। उनीहरूले हाम्फालेर ज्यान जोगाएको बताएका छन ।’ उनले भने, ‘त्यस्तो ठूलो घाइते भएका छैनन्। सानो चोटपटक होला।’

दुर्घटनापछि ट्याङकरमा आगलागी भएको थियो। दमकलको सहायताले आगो निभाएको उनले बताए। उनका अनुसार अहिले ट्याङ्करलाई त्रिशूलीबाट निकाल्ने तयारी भइरहेको छ।