उद्योग मन्त्रीको कमिसन काण्ड : छक्का पन्जा गरेर २३ करोड झ्याम

काठमाडौं – उद्योग, वाणिज्य र आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल आयाल निगमबाट झण्डै १७ करोड कमिसन लिएको खुलेको छ । गत फागुनमा विरामी परेको वहाना बनाई भारतको मुम्बई गएका बेलामा १६ करोड ६५ लाख रुपैयाँ कमिसन लिएका हुन ।

उनको साथमा पत्नी निर्मला भट्ट, नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडल र कमिसन कारोबारी प्रकाश ढकाल भारतको गएका थिए । ताज होटलमा बसेर मन्त्री भट्टले बात्रा कम्पनीका विहारस्थित साझेदारसँग नेपाल आयल निगमका लागि ९ लाख सिलिण्डर खरिद गर्ने सम्झौता गरेका थिए । त्यसमा उनकी पत्नी निर्मला भट्टको हिस्सा रहेको साइपाल ग्यास कम्पनीको लागि पनि एक लाख सिलिण्डर किन्ने व्यापारिक सम्झौता भएको थियो ।

बात्रा कम्पनीले बढीमा भारु ९८० मा विक्री गर्ने ग्यास सिलिण्डरलाई भारु १ हजार १ सय ६५ मा किन्न लगाएका थिए । एक सिलिण्डरमा भारु १८५ बढाएर मन्त्री भट्ट र प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेल मिलेर १६ करोड ६५ लाख कमिसन लिएको उद्योग मन्त्रालय श्रोतको भनाई छ ।

मुम्बई भ्रमणको वेलामा मन्त्री भट्टले महाराष्ट्रका राज्यपाल भगत सिंह कोसियारी र मुख्यमन्त्रीका मानिसहरुसँग गोप्य भेटवार्ता गरेको र त्यसबारे नेपाल सरकारलाई कुनै जानकारी नगराएको कुरा पहिले नै सार्वजनिक भइसकेको छ । त्यस्तो भेटवार्ता क्षेत्रीय दल महाराष्ट्र नवनिर्माण सेनाका अध्यक्ष राज ठाक्रेसँग समेत गरिएको तथ्य मन्त्री भट्ट र ठाक्रेलेसँगै खिचेको माथिको तस्वीरबाट प्रष्ट हुन्छ । राज ठाक्रे महाराष्ट्रका मुख्यमन्त्री र शिव सेनाका संस्थापक नेता वाल ठाक्रेका भतिजा हुन् । मुख्यमन्त्री उद्धव ठाक्रे पनि एकै परिवारका हुन् ।

लेखराज भट्टको भगतसिंह कोशियारीसँग निकै पहिलेदेखि सम्बन्ध रहेको तर त्यसलाई अझ घनिष्ट बनाउन कोशियारीसँग निकट सम्बन्ध भएका डोटीका गजेन्द्र ओझाले भूमिका खेलेको डोटी र कैलालीमा चर्चा छ ।

मन्त्री हुनु अघि लेखराज भट्ट इलामका कमिसनखोर व्यवसायी प्रकाश ढकालँंगै दरबार मार्गको होटल ल्याण्डमार्कको पाँचौं तलामा रहेको पीएनके कम्पनीसँग जोडिएका थिए । त्यस कम्पनीको नाम पीएनके प्रकाश ढकाल, भट्टकी पत्नी निर्मला भट्ट र एक समय राष्ट्रपति डा। रामवरण यादवका सल्लाहकार रहेका डा।सूर्य ढुगेलकी पत्नी कमलाको नाम छोट्करीमा राखिएको थियो । प्रकाश ढकालसँग सूर्य ढुगेलको पहिलेदेखि नै चिनजान थियो । ढुंगेलले रामेश्वर र प्रकाशसँग लेखराजको चिनजान गराएका थिए । लेखराज निरन्तर जसो दरबार मार्गको उक्त कार्यालयमा जान्थे र त्यहीबाट विभिन्न प्रकारका कारोबार गर्थे ।

पैसा कमाउने धुनमा लेखराज भट्टले साइपाल ग्यास कम्पनी दर्ता गर्न आफूले सहयोग गर्ने भन्दै सुदूरपश्चिमका केही व्यवसायी र निकटका मानिसहरुलाई उचालेका थिए । उनको कुरामा विश्वास गरेर ग्यास कम्पनी खोल्न जग्गा बिक्रि गरेर लगानी गर्दा झण्डै डुब्न पुगेका ती ब्यापारी भनाइ छ । साईपाल ग्याँस उद्योगको कारोबारबाट मन्त्री भट्टले करिव ५ करोड ९४ लाख खाएको चर्चा छ ।

लेखराज भट्टले साइपाल ग्यास उद्योग दर्ता गर्ने जिम्मा लिएपछि उनको सहयोगीको रुपमा रहेका दिनेश शाह र अन्य व्यवसायी मान शाही, गोपाल शाही, सिद्धराज ओझा, कैलु चौधरी र भट्टकी पत्नी निर्मला भट्टको नाममा साइपाल ग्यास कम्पनीको काम अगाडि बढाइयो । ‘बैंकबाट ऋण लिने, जग्गा लिने, भवन बनाउने काम गर्दै गर्नुस्, म दर्ता गर्ने काम अघि बढाउछु’, भनी भट्टले भनेको कुरामा अरु लगानीकर्ताले भर गरेर सवै काम अघि बढाए । लगानीकर्ताहरुको रकम लगानी भइसकेपछि भट्टले दर्ता गर्न १ करोड ९८ लाख लाग्ने भयो भन्दै रकम मागे । लगानी भइसकेकोले अरु लगानीकर्ताहरु उक्त रकम दिन वाध्य भए । साथै भट्टले उद्योगको लाइसेन्स स्वीकृति गराइदिए वापत ३३ प्रतिशत शेयर उनकी पत्नी निर्मला भट्टको नाममा राख्न लगाए ।

यसमा लेखराज भट्टको कुनै लगानी थिएन । तर दर्ता गर्न सहयोग गरेकोमा आफूले उक्त हिस्सा पाउनै पर्ने भनी पत्नीको नाममा शेयर लिएका थिए । यो सवै काम भट्टले आयल निगममा भ्रष्टाचार गरेकोमा मुद्दा लागेका प्रवन्धक निर्देशक गोपाल बहादुर खड्काको कार्यकालमा गराएका थिए ।

भट्ट मन्त्री भएपछि साइपाल ग्यास उद्योगको लागि ग्यास सिलिण्डरको व्यवस्था आफै गर्ने भनेर उनी मुम्बई गएको माथि नै उल्लेख भइसकेको छ । तर भट्टले कमिसनको रुपमा ठूलो रकम खाई सिलिण्डर महंगो भएर घाटा लाग्ने देखिएपछि अन्य साझेदार मध्येका ६ जना मन्त्री भट्टलाई कुनै जानकारी नदिई ग्यास सिलिण्डरको बजार भाउ बुझ्न दिल्ली पुगे । त्यहाँ उनीहरुले वात्रा भन्ने कम्पनीका जिम्मेवार व्यक्तिहरुसँग कुरा गर्दा भारु।९८० मा ग्यास सिलिण्डर दिने भनेको तर साइपाल ग्यास उद्योगको नाम लिनासाथ यसबारे मन्त्री भट्टले मुम्बईमा सम्झौता गरिसकेकाले सोही अनुसार हुने र नयाँ सम्झौता गर्न वा सम्झौताको पुनरावलोकन गर्न नसकिने भनेको कुरा स्थानीय साइपाल ग्यास उद्योग श्रोतको भनाई छ ।

ताज होटलमा बस्दाको सम्पूर्ण खर्च पनि वात्रा कम्पनीका मानिसले नै व्यहोरेको कुरा सो कम्पनीका आधिकारिक मानिसले नै खोलेका छन् । मन्त्री भट्टले कमिसनको ठूलो रकम असुल्ने सम्झौता गरेर ग्यास उद्योगमा खास लगानी गर्नेहरुले ठूलो घाटा खाने देखेपछि साइपाल ग्यास कम्पनी अहिले विक्रिमा छ । लगानीकर्ताहरुले कम्पनी बेच्न खोजेपछि दिवान चन्द र मल्लिक भन्ने व्यक्तिका विरुद्ध ग्यास उद्योगी महासंघमा मन्त्री पत्नी निर्मलाबाट उजुरी हाल्न लगाएका थिए । उनीहरु र साझेदारहरुलाई समेत धम्क्याई बझाङ जिल्लाको एक जलविद्युत आयोजनामा लगानी भएका हेटौंडाका शिव घिमिरेलाई उक्त कम्पनी १८ करोड रुपैयाँमा बेच्न बाध्य पारेको जानकारहरु बताउँछन् ।

यस कारोबारबाट मन्त्री भट्टले पहिले नै जबर्जस्ति राख्न लगाएको ३३ प्रतिशत शेयर वापत रु। ५ करोड ९४ लाख लिनुका साथै उनको हिस्सा रकमको कर रु। ३ करोड ८६ लाखसमेत अन्य साझेदारलाई तिर्न लगाए । किनकि उनले त्यसमा कुनै वैध लगानी नगरेकोले कर तिर्न मिल्ने थिएन । यसबाट पनि उनले झण्डै ६ करोडको सम्पत्ति सेतो बनाए । यसका साथै उनले ग्यास कम्पनी खरीदकर्तासँग थप रकम कमिसनको रुपमा लिएको चर्चा छ । अख्तियार र पार्टीले छानबिन गरेमा उक्त सवै कुरा प्रमाणित हुने सूत्रले बताएको छ ।

पछिल्लो कालमा मन्त्री भट्टलाई वालुवाटरमा प्रधानमन्त्रीसँग सम्बन्धको पहिलो गाँठो बनाउने काम प्रकाश ढकालका कमिशन साझेदार द्वन्द्वकालमा माओवादीलाई दमन गर्न सेनाको हेलिकप्टर उडाएर अकूत सम्पत्ति आर्जन गरेका क्याप्टेन रामेश्वर थापाले गरेको बुझिएको छ । त्यस्तै भगत सिंह कोशियारीसंग पहिलेदेखि नै रहेको लेखराज भट्टको सम्बन्धलाई गहिरो बनाउने काम कोशियारीका निकटस्थ डोटीका गजेन्द्र ओझाले गरेको सुदूरपश्चिममा व्यापक चर्चा छ ।

मन्त्री र पार्टीको स्थायी कमिटीको सदस्य जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट राजनीतिक, कानूनी र नैतिक दृष्टिले उक्त प्रकारका गम्भीर र आपत्तिजनक काम हुँदा पनि कुनै कारवाही नहुने हो भने नेकपाको भविष्य धरापमा परेको सुदूरपश्चिममा चर्चा छ ।

यसका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन गर्नपर्ने माग नेकपाकै नेताहरुको छ । उनीहरु निश्पक्ष छानविन गरी हदैसम्मको कारवाही गर्न माग गर्दै पार्टीका माथिल्लो तहका नेताहरुलाई कुहारेको नेकपा श्रोतको भनाई छ ।