नेपालको रेल जताबाट आयो उतै फिर्ता, चलाउने टुङ्गो छैन

काठमाडौं – संघिय सरकारले खुव तामझामका साथ किनेर ल्याएको रेल संचालन हुन अझै समय लाग्ने भएको छ । भारतको जयनगरदेखि नेपालका जनपुरसम्म संचालन हुने उक्त रेल विविध कारणले संचालन हुन समय लाग्ने भएको हो ।

यो रेल भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिबाससम्म सञ्चालन गर्न किनिएको हो । तर, हाल जनकपुरदेखि जयनगरसम्म मात्र लिक निर्माण भएकाले त्यही लिकमा मात्र गुड्ने छ ।

रेल त झण्डै एक अर्ब लगानी गरेर किनियो, तर कहिलेबाट चल्छ त ? यसको टुंगो लागिसकेको छैन । रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक भट्टराईले कोभिडले समस्या भएन भने एक–डेढ महिनामा सञ्चालनमा आउने बताए ।

भट्टराईका अनुसार नियमित सञ्चालनका लागि प्राविधिक जनशक्ति छैन । यो उपलब्ध गराउन भारत सरकारलाई अनुरोध गरिएको छ । भारत सरकारसँग केही सम्झौता हुन बाँकी छ ।

महाप्रबन्धक भट्टराईले भने, ‘हामी अन्तिम चरणको छलफलमा छौं । कुन मोडालिटीमा चलाउने, कति कर्मचारी दिने, खर्च कसरी व्यवस्थापन गर्ने भनेर उहाँहरुको प्रस्ताव केही दिनमा आउँछ ।’

त्यसो त रेल्वे सञ्चालनका लागि कानून पनि छैन । तत्काल कानुन बनाउन संघीय संसद पनि छैन । तर, ऐन पास नहुँदासम्म कुर्न नसक्ने भएकाले अध्यादेश ल्याएर भए पनि चाँडै रेल चलाउने योजना रहेको रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले जानकारी दिए ।

त्यतिवृेला सम्मका लागि रेल भारत फिर्ता पठाइने छ । रेललाई शुक्रबार जनकपुरधाममै राखिएको छ । रातभर दुबै रेलको परीक्षण गर्ने र आज भारतको जयनगर पठाउने योजना छ । दुबै रेललाई सञ्चालनमा नल्याउँदासम्म जयनगरको नेपाल प्लेटर्फममा पार्किङ्ग गरी राखिने छ ।