आयो नेपाली रेल

जनकपुरधाम – नेपालको झण्ड अंकित दुई वटा रेल नेपाल भारत सीमानामा आइपुगेका छन । ती रेलहरु आज जनकपुर आइपुग्नेछन ।

भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा किनिएका दुई रेल आज दिउँसो जनकपुर आइपुग्ने रेल विभागले जनाएको छ ।

सात महिनादेखि भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेल बिहीबार जयनगरस्थित रेल्वे स्टेसनमा आइपुगेको छ । जयनगर आइपुगेको रेललाई आज (शुक्रबार) बिहानै सफा गरेर चिटिक्क पारिएको छ ।

६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दशैं–तिहारपछि रेल सञ्चालनमा ल्याउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानारी दिएका छन् ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।