यस कारण बढेको रहेछ सेयर बजार, अझै केही दिनसम्म बढ्ने

काठमाडौं – नेपाली सेयर बजार केही दिन यता उकालो लागेको छ । साताको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से बढेको मात्र होयन कारोबार पनि उत्साहित भएको छ ।

यसको मुख्य कारण वाणिज्य बैंकहरु व्याजदर घट्नु हो । असोज १ गतेदेखि लागू हुने गरी थुप्रै बैंकहरुले ब्याजदर घटाएपछि सेयर बजारमा रौनकता छाएको हो । ब्याजदर अझै घट्ने देखिएकाले सेयर बजारपनि आगामी केही साता उकालो लागि लाग्ने अनुमान गरिएको छ । वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ ।

फलस्वरुपः निक्षेप र कर्जाको ब्याजदर निरन्तर ओरालो लागिरहेका छन् । प्रायः सबै प्रकारका बचत खाताको ब्याजदर ५ प्रतिशत भन्दा तल आएको छ । २ देखि ५ प्रतिशत हाराहारीमा मात्र बचतमा ब्याज पाइने अवस्था छ । यस्तै, मुद्दति निक्षेपको ब्याजदर पनि ८ प्रतिशत हाराहारीमा झरिसकेको छ । यसको सीधा र सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । ब्याजदर सस्तो भएपछि जहिले पनि सेयर बजारमा चमक आउने गर्छ । निक्षेपकर्ताहरु पनि बैंकको निक्षेपमा भन्दा सेयर बजारमा आकर्षित हुने गर्छन् ।

बैंकहरुले बोलाइबोलाई कर्जा दिइरहेका छन् । यसले पनि बजारमा रौनकता ल्याउने काम गरेको हो । यो सेयर बजारको सिजन पनि हो । यतिबेला सेयर खरिद गर्दा छोटो समयमै लाभांशको हकदार हुन सकिन्छ ।

नेप्से सूचक ३०.७८ अंकले बढेर १५७२.१९ विन्दुमा पुगेको छ । यस दिन १४१ कम्पनीको सेयर भाउ बढेको छ भने २४ वटा घटेका छन् । ५ कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन । दर्जनौं कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । निर्जीवन बिमा समूहबाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ । होटेल समूह सबैभन्दा धेरै १६१.५१ अंकले बढेको छ ।

वाणिज्य बैंक समूहको सूचक पनि २८.०७ अंकले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसको १३ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । दोस्रोमा नेपाल बैंक र तेस्रोमा चिलिमे हाइड्रोपावर परेको छ ।