३० अंकले बढ्यो नेप्से, होटल र हाइड्रोपावरका लगानीकर्ता मालामाल

काठमाडौं – बिहीबार सेयर बजारको परिसूचक नेप्से ३० अंकले बढेको छ।

३०.७८ अंकले बढेर परिसूचक १ हजार ५७२ अंकमा कायम भएको छ। ११ बजे कारोबार खुलेपछि १८ मिनेटसम्म ओरालो लागेको बजार त्यसपछि निरन्तरजसो उकालो लाग्यो।

यस दिन १९१ कम्पनीको ३ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

यस दिन खासगरी होटल र जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ।

निषेधाज्ञा खुलेपछि लगानीकर्ता होटल क्षेत्रमा आकर्षित भएका छन्। निषेधाज्ञाका बीचमा कतिपय होटलको मूल्य घटेको अवस्था रहेको र क्रमिक रुपमा पर्यटन क्षेत्रमा सुधार हुने अनुमानका बीचमा लगानीकर्ता होटल क्षेत्रमा तानिएका हुन्।

सोल्टी होटल, तारागाउँ रिसोर्ट, ओरेन्टल होटलको मूल्य यस दिन १० प्रतिशतले बढेको छ।

होटल क्षेत्रमा मात्रै नभई जलविद्युतमा पनि लगानीकर्ताको आकर्षण बढेको छ। खासगरी निर्माणाधीन अवस्थाका जलविद्युत आयोजनाको मूल्य सस्तो भएकाले त्यसतर्फ आकर्षण बढेको छ।

माथिल्लो तामाकोसी, कालिका पावर, अरुण भ्याली, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युतको मूल्य १० प्रतिशतले बढेको छ। १० प्रतिशत नै मूल्य बढ्नेमा रिलायन्स लाइफ इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, समृद्धि फाइनान्स, लगायत कम्पनी छन्।

होटल १६१ र जलविद्युत समूह ८८ अंकले बढेका छन्। त्यस्तै बैंकिङ २८, ब्यापार ६, विकास बैंक ६६, फाइनान्स ४१, उत्पादन १३, अन्य ८, माइक्रोफाइनान्स १२, जीवन बीमा समूह ४९ अंकले बढेका छन्।

निर्जीवन बीमा समूह भने १ अंकमुनि रातो रह्यो। यस दिन कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी नै अग्रस्थानमा रह्यो।

सो कम्पनीको १३ करोड रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल बैंकको १२ करोड रुपैयाँ बराबरको कारोबार भयो।

यस दिन एनआरएन लघुवित्तको मूल्य ६.७३ प्रतिशतले घटेको छ।