कृषि विकास बैंकको ऋणले लियो परिवारका तीन जनाको ज्यान

काठमाडौं – कृषि विकास बैंक लिमिटेडबाट लिएको ऋण तिर्न नसक्दा भक्तपरमा तीन जनाकाो ज्यान गएको छ । मध्यपुरथिमि नगरपालिका–९ निकोसेराका सुदिप अधिकारीले बैंकबाट लिएको ऋण तिर्ने आधार नभएको भन्दै आमा र छोराको हत्या गरी आत्माहत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
बैकबाट लिएको २३ लाख ८५ हजार ऋण तिर्न बैंकले बारम्बार ताकेता गरेको र त्यही विषयमा झगडा हुँदा घटना घटेको अनुसन्धानमा खटिएका अधिकृतको भनाई छ । सुरुमा जगातीस्थित ओम्निका ल्याबोरेटरिजमा काम गर्ने सुदिप अधिकारीले जागिर गुमाएपछि श्रीमान श्रीमतीको झगाडा हुने गरेको थियो । अत्यधिक मदिरा सेवन गर्ने बानी भएका अधिकारीलाई औषधि कम्पनीले त्यही कारण द्ेखाउँदै उनलाई जागिरबाट निकालेको थियो ।
जागिरबाट निकालिएपछि अधिकारी दम्पतीले निकोसेरास्थित घरको सटरमा किराना पसल सुरु गरेका थिए । १ आना तीन पैसामा बनेको सो घरलाई उनीहरुले १ बर्षअघि बैङ्कमा धितो राखेर बैंकमा २३ लाख ८५ हजार ऋण लिएका थिए ।
ऋणको बोझ थियो, आम्दानी थिएन् । ब्याज तिर्न नसक्ने अवस्था भएपछि घरमा दैनिक झगडा हुन थाल्यो । ऋणको बोझ र घरझगडाले सुदीपले श्रीमती र छोरासँगै आफ्नो ईहलिला आफैंले समाप्त पारेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
गत शुक्रवार साँझ मृत फेला परेका उनीहरुको भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा शव परीक्षण गरिएको छ । शव परीक्षणको विस्तृत रिपोर्ट आउन बाँकी छ । तर, प्रारम्भिक रिपोर्ट अनुसार सुदीप पत्नी सम्झना र छोरा सुशान्तको टाउकोमा चोट देखिएको छ ।
‘छोरा सुशान्तको टाउकोमा चार पटक र श्रीमतीको टाउकोमा तीन पटक दाउले हिर्काएको देखिन्छ,’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने–‘सुशान्तको घाँटीमा हतियारले काटेको गहिरो चोट छ ।’
सुदीपको शरीरमा चोट छैन् । उनले विष खाएर आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टबाट पनि खुलेको छ । मुसा मार्ने ‘सेल्फस’नामक विषको दुईओटा बाहिरी खोल घरबाहिर बारीमा भेटिएको छ । विषको बट्टा घरको छतबाट फाल्दा बारीमा पुगेको हुनसक्ने अनुसन्धान अधिकृतहरु बताउँछन् ।
घरको पहिलो तल्ला जहाँ सुशान्त मृत भेटिए, त्यहाँ फलामको बिँड भएको दाउ र भान्सामा प्रयोग हुने चक्कु फेला परेको थियो । सुदीपले पहिलो श्रीमती र त्यसपछि छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
आमा–छोराको भिसेरा परीक्षण गर्न प्रहरीले नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा स्याम्पल पठाएको छ ।