सेयर कारोबारमा समस्या देखिएपछि तात्यो अर्थ मन्त्रालय

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनलाइन कारोबारमा समस्या आएपछि अर्थ मन्त्रालय तातेको छ । कारोबारमा पटक पटक समस्या आएपछि मनत्रालयले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज दुबैका प्रमुखसँग स्पष्टिकरण सोध्ने भएको छ ।

अर्थ मन्त्रालयले दुबै निकायका प्रमुखलाई छलफलका लागि मन्त्रालयमा बोलाएको छ । उनीहरुलाई सोमबार बिहानै उपस्थित हुन भनिएको छ । अघिल्लो हप्तादेखि टिएमएसमा पटक पटक समस्या आएको थियो । अनलाइनमा समस्या देखिएपछि कारोबार समय लम्व्याउँदै कारोबार गरिएको थियो। आज पनि त्यही समस्या देखिएपछि कारोबार रोकिएको थियो ।

अनाहकमा लगानीकर्ताले दुख पाएपछि अर्थ मन्त्रालयले नेप्से र सेबोन दुवै निकायसँग आक्रोशित देखिएको छ । नेप्सेले प्राविधिक समस्याका कारण कारोबार हुन नसकेको जनाएको छ। तर के कस्तो प्राविधिक समस्या भएको हो भन्ने अझै यकिन नभएको नेप्सेको भनाइ छ। उसले सफ्टवेयर निर्माता कम्पनीसँग समस्याका बारेमा सोधिरहेको जनाएको छ। तर सफ्टवेयर कम्पनीले गडबडीको प्राविधिक नोट अझै नदिएको उसको भनाई छ।

यस विषयमा के गर्ने भनेर आइतबारै बोर्डका अधिकारीहरू सम्मिलित बैठक डाकिएको छ। उक्त बैठकले दिएको सुझावको आधारमा प्रक्रिया अघि बढ्ने बुझिइएको छ। तर यता लगानीकर्ता भने नियमित कारोबार समयमा पटक पटक समस्या आएपछि आक्रोशित छन्।