धरानकी एक युवतीको रहस्यमय मृत्यु, चार जना पक्राउ

काठमाडौं –धरान उपमहानगरपालिका–११ की २२ वर्षीया युवतीको रहस्यमय मृत्यु भएको छ । उनको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । भदौ २२ मा सोनी हाङ्मा लिम्बु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
पक्राउ पर्नेहरुमा ६१ वर्षीय भीम माबो, २८ बर्षीया सन्जु माबो, २५ बर्षीया विमला माबो र २० वर्षीय हेमकुमार माबोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।
सोनी आफ्नै कोठाको पंखामा झुन्डिएको भनी प्रहरीलाई खबर गरेपनि प्रहरी पुग्दा झुन्डिएको अवस्थामा शव भेटिएको थिएन । सोनीको शव झुण्डिएको अवस्थामा नभेटिएर खाटमा राखिएको अवस्थामा भेटिएको थियो ।
केही महिनाअघि सोनीले धरानका आइत माबोसँग भागेर विवाह गरेकी थिइन् । सोनीको माइती पक्षले उनको मृत्यु रहस्यमय भएको भन्दै इलाका प्रहरी कार्यालय धरानमा मंगबलार किटानी जाहेरी दिएको थियो ।
सोही जाहेरीको आधारमा केटाबा बुबा भीमसहित ४ जनालाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए । उनले भने, ‘पक्राउ परेका उनीहरूलाई भोलि जिल्ला अदालत सुनसरीमा म्याद थप गर्ने तयारी गरिरहेका छौं ।’
विवाह गरेर मृतकका श्रीमान सिंगापुर फर्किसकेको अवस्थामा परिवारले युवतीलाई मानसिक तनाव दिएको र परिवारमा मनमुटाव रहेको माइती पक्षको दाबी छ ।
केटाको परिवारले केटीलाई नस्वीकारेको माइती पक्षको आरोप छ । यस्तो समयमा यस्तो घटना घट्नु रहस्यमय भएको भन्दै माइती पक्षले केटा पक्षलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका थिए ।
मृतक सोनीको शरीरमा रातो रातो डामहरू देखिएपनि अन्य चोटपटक भने देखिएको छैन । मृतक सोनीको शव पोष्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।