प्रधानमन्त्री ओली भन्छन, ‘कुनै पनि हालतमा कुलमानको कार्यकाल थप्न सकिदैन’

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल नथपिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यक्तिलाई अवसर दिनु पर्ने भन्दै कुलमान कार्यकाल नथप्ने भएका हुन ।

प्रधानमन्त्री ओली भने कुलमानलाई आठ वर्ष प्राधिकरणको कार्यकारी निर्देशक बनाउन नसकिने भन्दै अर्को मान्छेको खोजी गरेको बालुवाटार निकट श्रोतको भनाई छ । ‘अरु कुनै व्यक्ति नभएजस्तै कुलमानलाई मात्रै प्राधिकरणको कार्यकारी निर्देशक बनाउन सकिदैन,’ प्रधानमन्त्रीको भनाइलाई उदृत गर्दै श्रोतले भन्यो, ‘अर्को व्यक्तिलाई पनि चान्स दिनुपर्छ। त्यसैले, कुलमानलाई पुनः नियुक्ति गर्न सकिदैन।’

तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भने कुलमानलाई जसरी पनि पुनः नियुक्ति गर्नुपर्ने अडान लिएका छन । कुलमानको कार्यकाल भदौ २९ गते सहिदैछ । त्यसपछि पुनः चार वर्षको कार्यकाल थप्नका लागि प्रचण्डले अर्को अध्यक्ष तथा प्रधानमन्त्रीलाई जोड दिएका छन्।

मन्त्री परिषदको बैठक बिहीबार बस्दैछ । प्रचण्डको दबावमा ऊर्जामन्त्री वर्षमान पुनले कुलमानको कार्यकाल पुनः चार वर्ष बढाउने प्रस्ताव लैजाने तयारी गरेको ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । कुलमानलाई पुनः नियुक्ति गर्ने पक्षमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई दबाव दिइरहेका छन्। तर, प्रधानमन्त्री ओली भने कुलमानको विकल्प खोज्दैछन्।

करिव ४ वर्षअघि मन्त्रीपरिषद्को बैठकले कुलमानलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो। कुलमान २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। उनले दैनिक १३ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई अन्त्य गरेर सबैको स्याबासी पाएका थिए।